दफा ५४५
वस्तु बिक्री सम्बन्धी करार भएको मानिने

(१) कुनै बिक्रेताले मूल्य लिई कुनै वस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मञ्जुर गरेकोमा वस्तु बिक्री सम्बन्धी करार भएको मानिनेछ ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले तत्काल प्रचलनमा रहेका मुद्रा, धितोपत्र वा उजुरी कार्यान्वयन गर्न सकिने दाबी (एक्सनेवल क्लेम) बाहेकका खरिद बिक्री हुन सक्ने कुनै पनि चल सम्पत्ति सम्झनु पर्छ ।
(२) वस्तु बिक्री सम्बन्धी करार शर्त बिना वा शर्त सहितको हुन सक्नेछ ।
(३) बिक्रेताको स्वामित्व वा भोगचलनमा तत्काल कायम रहेका वस्तु वा निजले भविष्यमा उत्पादन गर्ने वा प्राप्त गर्ने वस्तु बिक्री गर्ने गरी करार गर्न सकिनेछ ।